साताको अन्तिम दिन नेप्ले हरिवाली

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा उछाल देखिएको छ ।

बिहीबार प्रि–ओपनीङमै १४ अंकभन्दा माथिले बढेर खुलेको नेप्से परिसूचकमा उछाल देखिएको हो । प्रि–ओपनिङपछि नेप्से केही घटे पनि लगत्तै बजारमा खरिद चाप हाबी हुँदा नेप्सेमा उछाल आएको हो । बुधबार १५४१ अंकमा बन्द भएको नेप्से सातको अन्तिम दिन बिहीबार २ बजेर २२ मिनेट जाँदा ३६ अंकभन्दा बढीले वृद्धि भएर १५७८ अंकसम्म पुगेको थियो । तर अन्तिममा केही घटेको नेप्से २ प्रतिशतले बढेर १५७२.१९ अंकमा बन्द भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से ३०.७८ अंकले बढेको हो । नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि उछाल देखिएको छ । आज नेप्सेमा १९१ कम्पनीको १ करोड १७ लाख ५९ हजार ७९१ कम्पनीको ३ अर्ब ३० करोड १ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज दिनभर नेप्सेमा ४७ हजार १२५ कारोबार भएको छ ।

होटेल, हाइड्रोपावर र वित्त कम्पनी समूहको सूचकमा उछाल आउँदा नेप्सेमा उछाल देखिएको छ । नेप्सेलाई बिहीबार वाणिज्य र विकास बैंकहरूले पनि साथ दिएका छन् । बिहीबार होटेल समूहको सूचक ९.३७ प्रतिशत, हाइड्रोपावर, समूहको सूचक ७.३६ प्रतिशत र वित्त कम्पनी समूहको सूचक ६.१३ प्रतिशतले बढेको छ ।

यस्तै विकास बैंक समूहको सूचक ३.७३ प्रतिशत र बैंकिङ समूहको सूचक २.३ प्रतिशतले बढेको छ । बिहीबार निर्जीवन बिमाबाहेक सबै समूहको सूचकमा वृद्धि भएको छ । निर्जीवन बिमाको सूचक भने ०.०१ प्रतिशतले घटेको छ । बिहीबार चारवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदा दुई दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ४५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । अधिकांश हाइड्रोपावर वित्त कम्पनी र होटेलको सेयर मूल्यमा उछाल देखिएको छ ।

धेरै गुमाउनेमा भने बिमा कम्पनी र म्युचुअल फन्डहरूको वर्चस्व देखिएको छ । सवार्धिक गुमाउनेमा भने एनआरएन लघुवित्तका लगानीकर्ता छन् । सदा झै बिहीबार पनि कारोबार रकमको शीर्ष स्थानमा नेपाल पुनर्बिमा कम्पनी नै देखिएको छ। कम्पनीको १३ करोड २३ लाख ५६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

धेरै कारोबार हुने कम्पनीहरूमा नेपाल लाइफ चिलिमे हाइड्रोपावर, अपर तामाकोसी र नेपाल लाइफ इन्स्योरेन्स छन् । यता नेपाल बैंक र अपी पावरको सबैभन्दा धेरै कित्ता सेयर किनबेच भएको छ । यस्तै रिलायन्स लाइफको सबैभन्दा धेरै ३ हजार ७२३ वटा कारोबार भएको छ ।