भारतमा २४ घण्टामा ९७ हजार ८९४ संक्रमित थपिए

एजेन्सी । भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९७ हजार ८९४ संक्रमित थपिएका छन् । एकै दिन यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । पाँच दिन अगाडि ९७ हजार ५७० संक्रमित भेटिएका थिए । त्यसलाई पनि उछिन्दै पछिल्लो २४ घण्टामा ९७ हजार ८९४ संक्रमितको पहिचान भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

९७ हजार ८९४ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए ।  भारतमा कोरोना संक्रमितको संख्या ५१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भारतमा ५१ लाख १८ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।  

तथ्यांक अनुसार ८३ हजार १९८ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १३२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारत विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा अमेरिकापछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । 

सार्वजनिक सवारी तथा रेल सेवा सञ्चालनमा आएपछि भारत कोरोना संक्रमणको इपिसेन्टर बनेको छ । भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको तथ्यांकले देखाएको छ ।  विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख ३७ हजार ४५३ पुगेको छ भने ९ लाख ३७ हजार ३९१ को मृत्यु भइसकेको छ ।