मलामी बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत (अपडेट)

पाल्पा । पाल्पाको लघुवामा आज बिहान लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको सँख्या आठ पुगेको छ ।

बुटवल, रानीगन्जका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको हो ।

मृतकको शव बसले च्यापिएकाले निकाल्न समय लागेकोले दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन समय लागेको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जनकारी दिएका छन् ।

मृत्यु हुनेमा ५ जनाको सनाखत भएको छ । जसअनुसार पशुपति रसाईली, खुमबहादुर राना, विजय थापा क्षेत्री, भोजेन्द्र विक, र शंकर विक रहेको त्वातीले जानकारी दिएका छन् । घटनास्थलमा प्रहरी, स्थानीय बासिन्दा, सशस्त्र प्रहरीलगायतको टोलीले उद्धार कार्य जारी रहेको छ । बस सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ ।