एकता कपूर र उनकी आमाविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी । टिभी सिरियल तथा फिल्म उद्योगकी चर्चित निर्माता एकता कपूर र उनकी आमा शोभा कपूरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहारको बेगुसराय सिभिल अदालतले एकता र उनकी आमा शोभाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले वेब सिरिज ‘थ्री(एक्स’ सिजन २ को सम्बन्धमा यो पक्राउ पुर्जी जारी गरेको हो। यो वेब सिरिजमा सैनिककी श्रीमतीको बारेमा एक अन्तरंग दृश्य देखाइएको थियो।

सेनाको अपमान भएको र उक्त दृश्यमाथि आपत्ति जनाउँदै गत वर्ष बेगुसराय अदालतमा मुद्दा दर्ता गरिएको थियो । यस विषयमा अदालतले हालै पक्राउ पुर्जी जारी गरेको छ ।

बेगुसरायका वकिल ऋषिकेश पाठकले गत वर्ष निर्माता एकता र उनकी आमा शोभाले उक्त वेब सिरिज बनाएको बताए । वेब सिरिजमा देशको रक्षा गर्ने भारतीय सैनिकलाई देखाइएको थियो। ड्युटीमा हुँदा उनकी श्रीमतीले साथीलाई बोलाएर सेनाको पोसाक लगाएर शारीरिक सम्बन्ध बनाएको दृश्य देखाइएको छ ।

यस सम्बन्धमा एकता र उनकी आमा शोभाविरुद्ध विभिन्न जिल्लामा मुद्दा दर्ता भएको वकिल पाठकले बताए । यस मुद्दामा एकताले आफ्नो सफाइ पनि पेस गरेकी थिइन् । उनले त्यसपछि वेब सिरिजमा उक्त दृश्यलाई छोट्याएकी थिइन् ।