रुस–युक्रेन युद्धका कारण २८ लाख बालबालिका गरीबीको रेखामुनि

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका २८ लाख बालबालिका गरीबीको रेखामुनि पुगेको प्रतिवेदन सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसंघ बाल एजेन्सी युनिसेफले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार युक्रेनमा रुसको आक्रमणले गहिरो आर्थिक संकट बढ्दै गएको देखाएको हो । युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक सकंटको सबै भन्दा ठूलो बोझ बालबालिकामाथि परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी रोमानियामा पनि ११ लाख बालबालिका गरीबीमा बाँचिरहेको पाईएको छ । युनिसेफका युरोप र मध्ये एशियाका क्षेत्रीय निर्देशक अफसान खानले युद्धको चपेटामा सोही क्षेत्रका बालबालिकाहरू प्रभावित भइरहेको छ । जसका कारण थप ४ हजार ५ सय बालबालिका आफ्नो पहिलो जन्मोत्सव अघि नै मृत्यु वरण गर्न विवश हुने गरेको बताउनुभएको छ ।

यी राष्ट्रका १ लाख १७ हजार बालबालिका विद्यालय जानबाट वञ्चित रहेका छन् । हालै जारी भएको युनिसेफको अर्को प्रतिवेदनमा युक्रेनको युद्धमा करिब १ हजार बालबालिका मारिएको र उत्ति नै संख्यामा घाइते भएको जनाइएको छ ।