सर्वोच्चद्वारा रुपन्देही २ का राजु गुरुङको उम्मेदवारी खारेजी

काठमाडौं । रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो ।

सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रारम्भिक दृष्टिकोण दिएको हो ।

‘निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानूनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन । कालोसूची कायम रहेको भन्ने देखियो’, आदेशमा भनिएको छ, ‘कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन ।’

सर्वोच्च अदालतको यो आदेशसँगै रुपन्देही–२ मा सत्तारुढ गठबन्धनको उम्मेदवारविना नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । यसले एमाले उम्मेदवार एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सहज बनाएको छ । अब निर्वाचन आयोगलाई रुपन्देही–२ मा मतपत्र डिजाइन र छपाइको बाटो खुल्नेछ ।