विश्वकपको समूह चरणबाटै वेष्ट इण्डिज बाहिरियो

काठमाडौं । दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

अष्ट्रेलियामा आज भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट बाहिरिएको हो ।

वेष्टइण्डिजसँगको जितसँगै आयरल्याण्ड सुपर १२ मा पुगेको छ । वेष्ट इण्डिजले दिएको १४७ को लक्ष्य पछ्याएको आयरल्याण्डले १७.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो । आयरल्याण्डलाई जिताउँदै सुपर १२ मा पुर्‍याउन ओपनर ब्याटर पल स्टर्लिङले ६६ रनको अविजित पारी खेले ।

उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरेका हुन् । लोर्कन टस्कर ४५ रनमा अविजित रहे । उनले ३५ बलमा २ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर एण्डी बलब्रिनी ३७ रनमा क्याच आउट भए । वेष्ट इन्डिजका लागि अकेल होसेनले मात्र विकेट लिए । टस जितेर ब्याटिङ रोजेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनाएको थियो ।

वेष्ट इन्डिजका लागि ब्रान्डोन किङले सर्वाधिक ६२ रनको अविजित पारी खेले । उनले २८ बलमा ६ चौका र १ छक्का प्रहार गरे । जोन्सन चार्लीले १८ बलमा ३ चौका प्रहार गर्दै २४ रन बनाए । लेविस र पोरनले समान १३ रन बनाए भने ओडे स्मिथ १९ रनमा अविजित रहेका थिए । आयरल्यान्डका लागि ग्रेथ डिलानेले सर्वाधिक ३ विकेट लिए । ब्यारी म्याकक्यार्थी र सिमी सिंहले समान १ विकेट लिए ।