कांग्रेस–एमाले भागबन्डा मिलेपछि मन्त्रालयको टुंगो लाग्यो

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा लगभग टुङ्गिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो ।

दुवै दलका नेताहरुका अनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेका छन् । जसअनुसार कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय परेका छन् ।

त्यस्तै वन तथा वातावरण मन्त्रालय पनि कांग्रेसको भागमा परेको बुझिएको छ ।

यता एमालेको भागमा भने अर्थसहित भौतिक पूर्वाधार तथा यातायात,सञ्चार तथा सूचना प्रविधि र शिक्षा मन्त्रालय परेका छन् ।

त्यसबाहेक शिक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि एमालेको भागमा परेको छ । बाँकी चार मन्त्रालय भने साना दलका लागि छुट्याइएको छ ।

एमालेका एक नेताका अनुसार यी मन्त्रालय भागबन्डामा दुवै दल सहमति भए पनि सरकारमा सहभागी हुने दल थपघट भएमा केही परिवर्तन हुनसक्नेछन् । योसँगै नेपाली कांग्रेस र एमालेबाट मन्त्री हुनेको सुची तयार पार्न शीर्ष नेताहरू लागि परेका छन् ।