जेलबाट भागेका ‘टिके’लाई प्रहरीद्वारा गोली हानी पक्राउ

चितवन (पास)– गत ४ माघमा डिल्लीबजार कारागारबाट भागेकाविभिन्न अपराधिक घटनामा संलग्न भएको भन्दै ‘टिके’ भनिने टिकाबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाएपछि जवाफी फायरिङ उनी आफैं घाइते भएका छन् ।

चितवन प्रहरी प्रमुख दिपक थापाका अनुसार टिके र प्रहरी टोलीबीच चितवनको रामनगरस्थित पेट्रोल पम्प अगाडि गोली हानाहान भएको हो । उनलाई दुई गोली लागेको छ । हात र तिघ्रामा गोली लागेका उनलाई स्थानीय अस्पतालमा समान्य उपचार गरेर काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ ।

टिके मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले रामनगरमा चेकजाँच गरेको थियो ।

ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर खोलेका थिए । जवाफी फायररिङ गर्दा उनको तिघ्रा र हातमा गोली लागेको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।

मोटरसाइकल चालक भने फरार छन् । उनको खोजी भइरहेको एसपी थापाले जानकारी दिए ।