परदेशी आमाको छोरीलाई चिठी

मेरी प्यारी छोरी अनु,

प्रदेशी आमाको असिम प्यार तथा आशिर्बाद !

आज तिमी लाई आफन्तको जिम्मा लगाएर तिम्रो आमा प्रदेश लागेको पनि ८ बर्ष पुरा भएछ ।

हिजो जस्तो लाग्थ्यो एउटा पुरानो झोलामा एक जोडी कपडा र राहादनी बोकेर दैलामा राखिएको फूलसहित पानीले भरिएको गाग्रीमा ५० पैसा खसालेर गहभरी आँशु झार्दै तिम्रो कपाल सुम्सुम्याएर प्रदेशको बाटो लागेको । नजरले देखेसम्म मैले तिमीलाई फर्की फर्की हेरी रहेँथे । तिमी चाल बर्कतले भ्याए सम्मको बारिको काँन्लामा झरेर ति कलिला हात (जसले हात ले भात मुछेर खान पनि जानेका थिएनन्) तै पनि मलाई हावामा हात हल्लाई हल्लाई बाई–बाई गरिरह्यौ । जब पर को घुम्तीबाट तिमी ओझेल पर्यौ म डाँको छोडेर रोएकी थिए ।

हिजो सम्म एकै छिनको लागि बजार झर्दा तिमी मझेरीमा मेरो सारी को फुर्को समातेर मलाई पच्छ्याईरहन्थ्यौ । आज फेरि एक पटक एउटा बिस्कुट र चक्लेट लिएर आउने बहानामा म तिमीलाई झुक्याएर समुद्रपारको यात्रामा निस्किएको थिए । म कहिले फिर्नेछु,म फर्कदा घरका भित्तामा कति क्यालेन्डरले चिन्ह लिईसकेका हुनेछन्, तिमीलाई के थाहा ? तोते बोलीमा ताराबाजी गाउने तिम्रा ओठले तिमीलाई को खाई ? को खाई ? गरेर खाना खुवाउने यी हातहरुको स्पर्श पाउने छैनन् । यस्तै–यस्तै सोँच्दा सोँच्दै विर्तामोडबाट म चढेको बस थान्कोट आइपुगेपछि झल्याँस्स भएकी थिए । काठमाडांै आएपछि हातमा किताब कलम च्यापेर गल्ली गल्लीबाट गलामा टाई सहितका सेता सुकिला कलेज ड्रेसमा निस्केका युवती देखेपछी उनीहरुमा मैले तिम्रो स्वरुप देखेकी थिए । मैले त्यति बेला नै संकल्प गरेकी थिए । म तिमीलाई शिक्षित,सम्मानित नागरिक बनाउछु । जसलाई गाउँका गोरेटोमा हिँड्दा सज्जन हरुलाई गौरब होला । हजारौँको मुटुमा ढ्याँग्र्रो बजोस । अनि म तिम्री आमा भएकोमा गर्ब गर्न सँकु । छोरी अनु तिमी आज तिम्री आमाले देखेका बाटाहरुमा आफैँ हिँड्दैछौ । बिहानीले दिनको संकेत देखाउछ भने झैँ अहिलेसम्मका तिम्रा क्रियाकलाप हेर्दा लाग्छ तिमीले पक्कै पनि एक दिन आमाको सपनालाई विपनामा परिणत गर्ने छौ । तिमी अझै पनि सानी नै छौ ।

तिम्रो मन मस्तिष्कमा चन्द्रमा हुन्छ । तर पनि आफ्नो लक्ष्यमा पुग्नको लागि बाल्यकालका त्यही खुशीलाई तिलाञ्जली दिँदै अगाडी बड्दै जानु । तिमीले त्यहाँ गरेको मेहेनत र तिम्री आमाले प्रदेशमा गरेको मेहेनतको नतिजा पनि होस कि मैले मेरो जिवनमा भोगेका सारा दुःख कष्ट भुल्न सकँु , तिमीमा नै मेरो जीवनको सारा परिकल्पना गर्न सकुँ , तिमी प्रति मेरो ठूलो भरोसा छ । आमाको यस भरोसामा खरो उत्रिएर मेरो मात्र नभै सारा गाउँघर, छरछिमेक, ईष्टमित्र लाई गौरवान्वित गराउने मार्गमा अघि बढ्दै जानु । मेरो आशिर्वाद तिम्रो साथ रहने छ ।

छोरी अनु, तिमीलाई समाज र राष्ट्रको अन्तरआत्मामा गढेको पुरुष प्रधान मानसिकता बिरुद्ध नारी मुक्तीका लागि आवज उठाउने एक जिम्मेवार नागरिक बनाउन सकेँ भने म मेरो लक्ष्यको अन्तिम बिन्दुमा पुगेको महसुस गर्नेछु । जुन दिन तिमीमा नेपाली समाजमा महिला उत्थान का लागि केहि गर्छु भन्ने कर्तब्य र जिम्मेबारी बोध हुने छ । तब पराई भूमीमा रगत पसिनाको खोला बगाउँदा–बगाउँदा शीथिल बनेको मेरो शरिरले केहि उर्जा प्रप्त गर्नेछ । अनी म तिम्रो प्रगति र स्वाभिमानका कहानी पीँढिको चकटीमा बसेर आफन्तको मुख बाट सुन्ने छु । अनी मेरो अनुस्पथितीमा कैयौँ वर्ष निन्याउरो अनुहार लिएर गोधुली साँझमा करेसामा टोलाएका तिम्रा बच्पनको कल्पनामा दुइ थोपा आँशु झार्दै हत्केलाको पानी लगाएर म तिम्रो आगनको प्रतिक्षामा त्यही घुम्तीमा नजर लगाउने छु । जहाँ बाट म पहिलो पटक विदेश पलायन हुँदा तिम्रा कोमल हत्केला मेरो बिदाइमा हल्लिएको देखेकी थिए । मेरा यि भावनात्मक शब्द तिम्रा लागि उर्जा बनेर कर्तब्यको बाटो देखाउने ‘दियो’ बनोस, बिदा ।

तिम्री आमा

रेणु कार्की (इलाम)

हाल : दोहा, कतार

इलाम सेवा समाज कतारकी प्रथम उपाध्यक्ष