विमान दुर्घटनाबारे विशेष प्रस्ताव पारित

काठमाडौं– गत फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएको युएस बंगला एअरलाइन्सको विमान दुर्घटनाप्रति प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ ।आज बसेको बैठकले दुर्घटनाप्रति गहिरो दुख प्रकट गर्नुका साथै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । संसद बैठकमा दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्मानमा एक मिनेट मौनधारण पनि गरिएको थियो ।फागुन २८ गते भएको विमान दुर्घटनामा ज्यान गुमाएका ४९ जनामध्ये २२ जना नेपाली, २६ जना बंगलादेशी र १ जना चिनियाँ नागरिक रहेका छन् ।

घाइतेमध्ये १७ जना काठमाडौंको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने ३ जना डिस्चार्ज भएर घर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जानकारी गराएका छन् ।विमानमा चालक दलका ४ जनासहित ७१ जना रहेकोमा ३३ जना नेपाली, चालक दलका सदस्यसहित ३६ जना बंगदलादेशी, १ जना चिनियाँ र १ जना माल्दिभ्सका नागरिक थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा यस्ता अप्रिय घटना हुन नदिन सरकार सचेत रहने बताएका छन् । उनले विमान दुर्घटनाको कारण पत्ता लगाउन छानबिन आयोग गठन भएको र आयोगको सुझाव अनुसार भविष्यमा यस्ता दुर्घटना नहोस् भनेर सचेतता अपनाउने पनि बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा संबोधन गर्दै प्रधानमन्त्री ओलीले यस घटनालाई नेपाल सरकारले अत्यन्तै दुखद र गम्भीर घटनाको रुपमा लिएको पनि बताएका छन् ।