लोपोन्मुख लोक भाकामा ‘माया छ रुमालैमा’ (भिडियो सहित)

काठमाडौं (पास)– खोटाङको रावावेशी गाउँपालिका ३ लामिडाडाँमा जन्मेका पदम थुलुङ राई नेपाली सँगीतमा विचरण गर्दै आएका एक पारखी हुन् । उनी गाउन र संगीत गर्नुमा उतिकै क्रियाशिल छन् ।

भारतको इलाहाबाबाट संगीतको बिम्युज गरेका थुलुङ हाल लोपन्मुख भाकाहरुको खोजिमा रहेका छन् । उनले भर्खरै मात्र पुर्वेली लोक जुहारी गित ‘माया छ रुमालैमा’ बजारमा ल्याएका छन् । निकै लामो संगीत साधनामा रमाएका उनले नेपाली संगीतमा हराउन लागेको जुहारीलाई बजारमा ल्याएका हुन ।

उनको यो पुरानो प्रचलनमा रहेको गीतलाई माघे संक्रान्ति तथा किरात नया संवत ५०७८ को अवसर पारेर सोमबार युट्यूबमार्फत सार्वजनिक गरिएको हो । हाइलाईट्स म्यूजिकमार्फत सार्वजनिक गरिएको लोक जुहारीको भ्यूअर केही घण्टामै उत्साहजनक देखिएको गायक तथा संगीतकार थुलुङले बताए ।

विशेष गरी बुढापाकाले मात्र गाउने र बुझ्ने भाकामा आधारित ६ मिनेट लामो लोकजुहारीमा स्वयं गायक थुलुङ र गायिका सरला राईको स्वर सजिएको छ । पुर्वका किरात समुदायमा गाइने लोपोन्मुख भाकालाई समेटेर तयार पारिएको लोकजुहारीमा सितोरियो करातेकी रेफ्री समेत रहेकी मोडल शेसुका राई, पवन राई, निर्मला पुलामी, वशन्त राई, दिनेश राई, रेनुका राई लगायतको अभिनय देख्न सकिन्छ ।

गणेशकुमार राईको शव्द र अनिल थुलुङको नृत्य निर्देशन रहेको लोकजुहारीको भिडियोको निर्देशन युवराज राईले गरेका हुन् । लोपोन्मुख बनेको लोक भाकामा आधारित लोक जुहारीको छायांकन असोज तेश्रो साता खोटाङकै लामीडाँडा गाउँपालिकाको चिउरीबासमा गरिएको थियो । वशन्त राई र दिनेश राईले निर्माण गरेको गीतको भिडियोमा विहेकाक्रममा हुने विभिन्न रितलाई सांगीतिकरुपमा चित्रण गरिएको छ । बुढापाको अन्त्यासँगै लोपोन्मुख बनिसकेको सो लोकभाका विशेषगरी गाउँघरमा एकादसी लगायतका मेला हाटबजार तथा विहेबारी, छेवर लगायतका शुभकार्यमा पाहुनासँग छुट्टिने बेलामा गाउने गरिन्छ ।

गाउँघरमा कुनै–कुनै ठाउँमा मात्र गाइने भएकाले भाकालाई सुहाउँदो दृश्य गाउँमै कैद गरिएको गायक तथा संगीतकार थुलुङले बताए । ‘अहिलेका युवा पुस्ता जानकार छैनन्, यो लोपोन्मुख बनिसकेको छ,’ ईलाहावादबाट संगीतमा बिम्यूज गरेका थुलुङले भने, ‘यो भाका बुढापाकाले मात्र गाउने गरेका छन् , गाउँघरमा सदियौँदेखि बसोबास गर्ने बाजे बराजुले गाएको गीत संरक्षणका लागि पनि भिडियो बनाएका हौँ ।’

२०६१ सालदेखि संगीतमा लागेका पदमले दुईदर्जन बढी गीतहरुमा संगीत गरिसकेका छन् । उनले चलचित्रका गीतहरुमा संगीत भरेका छन् ।