अध्यारोबाट उज्यालोमा जाने चित्रकला “तमसोमा ज्योतिर्गमय“

काठमाडौ– चित्रकार सन्ध्या रेग्मीको नवौ एकल चित्रकला प्रदर्शनी “तमसोमा ज्योतिर्गमय“ शीर्षकमा नेपाल कला परिषदमा प्रदर्शनी भइरहेको छ ।

यही असार २३ गतेदेखि शुरु भई असार २९ गतेसम्म चल्ने प्रदर्शनीमा ३३ वटा बत्ती, ॐ, गायत्री मन्त्र, महामृत्युजन्य मन्त्र लगायत यथार्थवादी, अमुर्त र अर्धमुर्त शैलीका चित्रहरू राखिएका छन् ।

कलाकार रेग्मीले पाँच बर्षदेखि गरेको सिर्जना र मेहनतबाट निर्माण भएका ती चित्र अध्यात्मवादसँग सम्बन्धित छ भने समाजलाई अन्ध्यारोबाट उज्यालोतिर, असत्यबाट सत्यतिर, मृत्युबाट जीवनतिर लैजाने दार्शनिक मान्यतालाई चित्रले प्रतिविम्बित गरेको छ ।

इञ्जिनियरसमेत रहेकी कलाकार रेग्मीले प्रत्येक चित्रको संरचना हेर्दा पहेलो, रातो, खैरो रंगको प्रयोग राम्रोसँग गणितको हरहिसावलाई व्यवस्थापन गरेको पाइन्छ । सन् २०१३ मा “बुद्धका अनुहारहरू“ शीर्र्षकमा सातौ एकल चित्रकला गर्नुभएकी रेग्मीले स्वदेश र बिदेशमा गरी नौ पटक सम्म आफ्ना पेन्टिङहरूको प्रदर्शनी गरिसकेकी छन् ।

वरिष्ठ कला समीक्षक रमेश खनालले चित्रका किनारामा धमिलो हुँदै केन्द्रमा चहकिलो रंग भरेको शैलीले बोधिसत्व प्राप्तिका लागि अध्यारोबाट उज्यालोमा जाने विधिलाई चित्रमार्फत देखाउन खोजिएको बताए ।

मुलुकमा भएको १० वर्ष लामो गृहयुद्धमा सर्वसाधारण नागरिकमा परेको असहज परिस्थिति, भयलाई प्रस्तुत गर्न आकाश रिसाउँदा समुन्द्रमा रगत बगेको बिम्बमा चित्र तयार पारिएको छ । सूर्य भगवानलाई सर्वशक्तिमान, सर्वव्यापी मानिएका केही चित्रमा सर्वज्ञका रुपमा शिवशक्तिको महत्वलाई प्रस्तुत गरिएको छ भने ॐ को नाममा चित्र कोरिएको छ । सात वटा चित्र ॐ सँग सम्बन्धित छन् भने ॐ बाट शिव तथा महादेव देखाइएको छ । ॐ को अगाडि पछाडि बलिरहेको दियो, डमरु र त्रिशुल प्रतिकका रुपमा चित्रमा प्रस्तुत गरिएका छन् । विश्व ब्रम्हाण्डमा ॐ को महत्व, अविनाशी, अजर र अमर शक्तिका रुपमा सिर्जना अभिव्यक्त गरिएको छ ।

भूकम्पको समयमा नागरिकमा आएको निराशालाई केही चित्रबाट देखाउन खोजिएको छ । गायत्री मन्त्रका आधारमा मृत्युबाट जीवन, अन्धकारबाट उज्यालोमा जान सक्ने शिक्षा र सन्देश चित्रमा देखाइएको इन्जिनियर दिनेश शिवाकोटीले बताए ।

समाजलाई सकारात्मक परिवर्तनका लागि कला क्षेत्र सशक्त माध्यम बन्नसक्दछ किनभने यसको प्रभावले मानिसमा चाँडो परिवर्तन आउँछ । वेदको गहन अध्ययनबाट प्राप्त गरेको शिक्षाका आधारमा कलाकार रेग्मीले कोरेका चित्रले आध्यात्मिक दर्शनका माध्यमबाट समाजलाई सकारात्मक सन्देश दिन सकिने विश्वास गरिएको छ ।

अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यले चित्रमा वैदिक परम्पराको मौलिकता रहेको बताउँदै आफूलाई चित्रले राम्रो प्रभाव पारेको विचार व्यक्त गरे । बुद्धले बोधिसत्व प्राप्त गरेपछि पनि दिव्य ज्ञानका माध्यमबाट अन्धकारबाट अन्धकार, अन्धकारबाट उज्यालो, उज्यालोबाट अध्यारो र उज्यालोबाट उज्यालोलाई अनुभूत गर्न सकिने शिक्षाका बारेमा उपदेश दिनुभएको प्रसंग अनुत्तर निकायमा पाइन्छ ।

कलाकार रेग्मीले मानव सभ्यताको विकास क्रममा वैदिक सभ्यता र संस्कृतिको ठूलो महत्व रहेको बताउँदै ज्ञानबाट प्राप्त गरिने सत्यको स्वानुभूतीलाई विभिन्न चित्रमा अध्यात्मिक चिन्तनका अभिव्यक्ति दिएको बताए । उनले भने–‘जीवन र जगतलाई बुझ्ने सबैका फरक फरक भोगाई र विश्लेषण नै ज्ञानका हो, त्यो सत्य वा असत्य दुबै हुन सक्तछ ।’ विभिन्न उमेर समुहका दर्शकहरूले ती चित्रलाई महत्व दिएर हेर्न आएको पाइएको छ । प्रदर्शनीको अर्को आकर्षणमा कलासँग साहित्य र पनि मिसाइएको छ ।