जागिरबाट रिटायर्ड भइसकेपछि मेरो जीवन केही सहज भयो । बिहानै उठेर मर्निङ वाक जाने, फर्केर नुहाई–धुवाई गर्ने, दाह्री काटिसकेर केहिबेर पढ्ने (लेखने मेरो दैनिकी बन्यो ) ।
मानिसहरु घरमा भेटघाटको निम्ति आए भने उनिहरुसँगै समय बिताउथे नत्र दिउँसो नजिकैको जङ्गलमा घुम्न जान्थे प्रकृतिको आनन्द लिनलाई ।
जङ्गलमा कहिले चराको चिरबिर सुन्दै, कहिले पातहरुको सुसाइ त कहिले झरनाको चन्चलतामा घन्टाँै बिताउथे अनि घरमा आएर दुई चार पाना कोर्थे ।
श्रीमतिले यस धर्तीबाट बिदा लिएको पनि ५ बर्ष बिति सकेको थियो । घरमा काम नहुने हुनाले जङ्गलमा घुम्न जाने पनि एक किसिमको नशा जस्तो बनिसकेको थियो अनि साना साना रचना आफ्ना सन्तान जस्ता ।
एकदिन जङ्गलमा मयुर नाचेको हेरिरहेको थिए, एकजना महिला गुनगुनाउदै घाँसको भारि बोकेर छेउमा आइन् । करिव ४० बर्ष जतिकी थिइन् होलि ।
महिलाः दाइ तपाइँ एक्लै किन जङ्गलमा ?
मः के गर्नु बैनी घरमा काम हुँदैन, यतिकै बस्नु भन्दा प्रकृतिसँग रम्छु भनेर । अनि बैनी चाहिँ ?
महिलाः मेरो त काम नै घाँस काट्ने हो ।
मः घर कता पर्यो नि बैनिको ?
महिलाः बाटो पारी घुम्ती चोकमा । अनि तपाइँको ?
मः मेरो घर अलिक पर भट्टराई टोल ।
महिलाः त्यत्रो टाढाबाट आउनुहुँदो रहेछ, त्यो पनि यो उमेरमा, ख्याल गर्नुस् है दाइ स यो जङ्गल हेर्दा सानो भए पनि खतरनाक छ नि ! (यति भनेर गुनगुनाउदै गइन् )
एक छिन पछि म घर फर्किए…
भोलिपल्ट झरनाको छेउमा बसेर पानी बगेको हेर्दै केही कोर्दै थिए ।
कति शान्त तिमी
कोमल तिम्रो चन्चलता
सुसेल्दै बग्दै गर्छौ
लामो गन्तव्यमा ।
कहिँ कतै बाधा देख्दैनौ
तगारोमा छाल बनी दिन्छौ
भिरालोमा पनि बग्दै
सितल झरना भइ झर्छौ ।
ठोस, तरल अनि ग्यास
जुनसुकै रुप स्विकार्छौ
छट्पटिएको मानिसको
प्यास मेटाइदिन्छौ ।।
यतिकैमा एउटा महिला चिच्याएको आवाज आयो , म झसङ्ग भए , आवाज पछ्याउँदै गए, अलिकति पर झरनाको छेउमा एक जना महिला घोप्टो परेर रुदै थिइन्, रगत लतपतिएको लुगा पानीले निथ्रुकै भिजेको थियो ।
उनी हिजो भेटिएकी महिला थिइन् । अलि पर घाँसको डोको लडिरहेको थियो ।
मः के भयो बैहिनी ?
महिलाः हेर्नुस् न दाई, दुइजना बनपालेहरु मिलेर मेरो इज्जत लूटे, म बर्बाद भए, अब म कसरी बाँचु, घरमा कुन मुख देखाउँ (रुदै भनिन् ) ।
म ः नरोऊ बैनी, जे भयो भयो, आफूलाइ सम्हाल, तिनीहरुलाई कडा कानुनी कारबाही गर्नु पर्छ । तिनीहरुलाई चिनेको त छौ नि ?
महिलाः सधै जिस्काउँथे, बन बिभागको जागिरे हुन् , तर आज ….
मः आफ्नो मन दह्रो बनाऊ, यिनीहरुलाइ कडा करबाही हुन्छ ।
महिलाः पक्का हो दाई ?
यति भनेर ति महिला रुदै रुदै जङ्गलबाट गइन् । ती महिला पनि आइहाल्छिन् अनि पुलिसमा गएर उजुरी गरौंला भनेर म घर फर्किए ।
घरको गेटबाट छिर्न लाग्दै थिए । आगनमा त मानिसको पुरै भिडभाड थियो । म झसङ्ग भए , कतै मेरो घरमा केही त भएन ?
म भित्र छिर्न मात्र लाग्दै थिए सबैजना खुशी भए, मेरी छोरी कुदेर आइन् र अङ्गालो कसेर रुन थालिन् ।
छोरीः यसरी नहराउनुस न बुवा, हजुर बिना हामी कसरी बाँच्नु ।
मः (छक्क पर्दै) किन के भयो र छोरी ?
छोरीः हजुर घरमा खबर नगरी हप्तौँ हराउने ! अझै के भयो भन्ने ?
खबरै नगरी ?
गालामा हात पुग्यो अगि भर्खरै दाह्री काटेर गएको, दाह्री बढेर झ्याप्प भइसकेछ । म अचम्मित भए र जङ्गलमा घटेको घटना सबै सामु सुनाए ।
एक जना छिमेकीले छक्क पर्दै भनेः ‘यस्तो घटना घटेको त करिव बाह्र बर्ष भइसक्यो, तपाईहरु यहाँ बसाइँ आउनुभन्दा अगाडिकै घटना हो । घुम्ति चोकको एकजना महिलाको बलात्कार पछि हत्या भएको थियो । झरना छेउमा लास भेटिएको थियो तर हत्यारा हाल सम्म पत्ता लागेको छैन ।’
मैले ती महिलाले रुदै भनेको सम्झे, ‘दुइजना बनपालेहरु मिलेर मेरो इज्जत लुटे ।’
यो कुरा सबैलाई सुनाए , मानिसहरु झनै अचम्मित भए । पक्कै पनि आफ्नो हत्यारा पत्ता नलागेर आत्माले शान्ति नपाएको हुन सक्छ भनेर मानिसहरुले अनुमान लाउन थाले ।
यस्तो अपराधी कसरी पत्ता लगाउने भनेर बिचार गरे र सबिन भट्टराईको ‘Theory of time laps’ भन्ने किताबको सार बोकेर एउटा फाइल दर्ता गर्न लागे अपराध अनुसन्धान महाशाखा तिर ।
लेखकः सबिन भट्टराई