लघुकथाः हिलो छ्याप्ने गाडी कसको ?

बाटोको छेउछेउ भएर छोरीलाई स्कुल पुर्याउन जाँदै थिए । सिमसिम पानी पर्न थाल्यो ।

छोरीः बाबा आज कति मज्जा है ! माक्स नै लगाउनु परेन ।

मः हो त नि मैले पनि माक्स लगाउन परेन ।

छोरीः बाबा म एकै छिन पानीमा भिज्छु है ?

मः स्कुल जादा होइन भरै फर्किदा हामी दुबैजना भिज्ने ल ।

छोरीः भरै पानी परेन भने ?

मः भरै परेन भने भोलि परि हाल्छ नि ।

छोरी आकाश तिर फर्केर, ‘हे भगवान भरे स्कुलबाट फर्किदा पानी पराइ दिनुस् है ।’

यतिकैमा एउटा साइरन बजाउदै आएको खैरो गाडीले हामी दुबैलाइ हिलो छ्यापेर गयो, छोरी रुन थालिन् । एकछिन सम्झाए ।

मः नरोउ छोरी, स्कुलमा गएर मिसलाइ भनेर लुगाको हिलो सफा गर्न लगाइदिन्छु ।

छोरीः बाबा त्यो गाडीले किन हामिलाइ हिलो छ्यापेको ? रिसाएर हो ?

मः हैन छोरी, बाटो बिग्रेको छ, पानी परेपछी त्यही पानी जमेर हिलो हुन्छ । अनि गाडी कुद्नलाई अफ्ट्यारो भएर हिलो छ्यापेको हो ।

छोरीः बाटो किन बिग्रेको बाबा ?

मः धेरै गाडी कुदेर ।

छोरीः अनि हाम्रो त गाडी छैन त ?

मः पछि कुनै दिन हुन्छ नि छोरी ।

छोरीः कहिले हुन्छ बाबा ?

मः धेरै पैसा भए पछि ।

छोरीः म खुत्रुके फुटाएर दिन्छु अनि किनौ है बाबा ।

यतिकैमा अर्को गाडी छेउबाट गयो, छोरी तर्सिन् ।

मः नतर्स छोरी, सबै गाडीले हिलो छ्याप्दैन ।

छोरीः एम्बुलेन्स जस्तो कराउने गाडीले मात्रै हिलो छ्याप्छ हो बाबा ? त्यो गाडी कस्को हो बाबा ?

मः नेता को ।

छोरीः नेता भनेको को हो ?

मः बाबा र मामुले गाएको गीत छ नि ‘ईश तलाई भोट’ भन्ने त्यसमा नमस्ते गर्ने मान्छे नेता हो ।

छोरीः आज किन नमस्ते गरेनन् त ?

मः त्यति बेला भोट माग्ने बेला भएर नमस्ते गरेको अब पाइसके पछि त हामिले पो नमस्ते गर्नु पर्छ त ।

छोरीः भोट भनेको के हो बाबा ?

मः तपाईले हाम्रो ठाँउको बाटो राम्रो बनाइदिनु हुन्छ , धारामा सधै सफा पानी आउँछ , बाटोमा धुलो उड्दैन अनि बिरामी भएर हस्पिटल जाँदा दबाइ खाएको पैसा तिर्न पर्दैन तपाई गाडी चड्नुस भनेर हामी सबै जना मिलेर ताली बजाएर जय जय भनेर पठाएको हो के भोट भनेको बुझ्यौ त ?

छोरीः बुझे बुझे , त्यसो भए गाडी पनि हामिहरुले दिएको हो ?

मः हो त नि ।

छोरीः अनि हामीलाइ नै किन हिलो छ्यापेको त ?

म हतार हतार स्कुलको गेटबाट मिसलाइ छोरीको लुगामा लागेको हिलो सफा गरिदिनुस् है भन्दै छोरीलाई टाटा गर्दै गेट बाट फर्किए ।

मसँग छोरीको प्रश्नको जवाफ थिएन ।

धन्यवाद ।।

लेखकः सविन भट्टराई