श्रमजीवी ऐन कार्यान्वयन नगरेको भन्दै चिया मजदूर आन्दोलित

पशुपतिगनर– चिया बगान व्यवस्थापनले श्रमजीवी ऐन कार्यान्वयन नगरेको भन्दै चिया मजदूर आन्दोलित भएका छन् । सरकारले २०७५ साउन १ गतेदेखि लागू हुने गरी घोषणा गरेको दैनिक भत्ता र महँगी भत्ता कार्यान्वयन नगरिएको भन्दै बन्दको घोषणा गरेका हुन् ।

चिया मजदूर सम्बद्ध तीन सङ्गठनले संयुक्त विज्ञप्ति जारी गरी विभिन्न चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत साउन १ गतेदेखि लागू हुने गरी चिया बगान र कारखानामा कार्यरत श्रमिकको आधारभुत पारिश्रमिक दैनिक रु २३१ र महँगी भत्ता रु १५४ कायम गर्न आन्दोलन गर्दै आएका छन् । श्रम ऐन कार्यान्वयनका लागि ट्रेड युनियनले गत असोज १० गते समेत चिया कारखाना बन्द गर्ने घोषणा गरेका थिए । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा चिया क्षेत्र अध्ययन उच्चस्तरीय कार्यदल बनाएको थियो ।

कार्यदलले चिया क्षेत्र घोषणा गरिएका पाँच जिल्लाका चिया उद्योगी एवं मजदूरसँग छलफल गरी गत फागुन ३० गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । अखिल नेपाल चिया मजदूर सङ्घ इलामका अध्यक्ष उमेश रेग्मीले उद्योगीले मजदूरको माग सम्बोधन नगरेका कारण पुनः आन्दोलन गर्नु परेको बताए ।