करोडौं कमाएर सेनाका पूर्व जर्नेल योगेन्द्र फरार

करोडौं कमाएका सेनाका एक पूर्व जर्नेल फरार भएका छन् । निजगढ–काठमाडौं द्रूतमार्गको ठेक्कामा व्यापक अनियमितता गरेका पूर्व उपरथी योगेन्द्र खाँडविरुद्ध सैनिक मुख्यालयले छानबिन थालेको हो । उनलाई पक्राउ गर्न सैनिक टोली खटिएकोमा खाँड फरार भएका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा खाँड लगायत सैनिकमाथि छानबिन सुरु भएको हो । प्रधानसेनापतिपछिका सिनियर जर्नेल रथी शरद गिरीको नेतृत्व अनियमितताबारे छानबिन थालिएको हो । फास्ट ट्रयाक निर्माणक्रममा अग्लो पुल र सुरुङ बनाउने काम नेपालीले नसक्ने र त्यसका लागि अन्तर्रा्ष्ट्रिय टेण्डर गर्नुपर्ने अवस्था छ ।

त्यो काम जंगी अड्डाले अगाडि बढाउने सुरसार गरिरहँदा खाँणले तत्कालीन सेनापति राजेन्द्र क्षेत्रीको आदेशानुसार मौखिक रुपमै आफ्ना मान्छेको डोजर, लोडर लगाएर अर्थ वर्कमा मात्रै पचासौं करोड घोटाला गरेको बताइन्छ ।

उनले बिना योजना लाखौं स्क्वायर फुट बाटो त्यसै खन्न लगाउने, बिल बनाउने र पैसा दिने काम गरेको समेत उजुरीमा छ । मौखिक जिम्मा र हाताहाती पैसा दिएर उनले अनियमितता गरेको उजुरी प्रधानसेनापतिको सचिवालयमा पुगेसँगै तलका कर्मचारीको बयानका आधारमा खाँणमात्र हैन, संलग्न जति सबैमाथि कारवाहीको डण्डा सोझिने सम्भावना छ ।

खाँडले गत असार १३ गते अवकाश पाएका थिए । प्रधानसेनापति थापाले गत बैशाखमा उनलाई फास्ट ट्रयाक हेर्ने जिम्मेवारीबाट हटाएका थिए ।
पछिल्लो समय प्रधानसेनापति थापाले भ्रष्टाचारविरुद्ध शुद्धिकरण अभियान चलाएका छन् । जसमा दर्जनौंको जागिर गइसकेको छ ।