प्रहरी हिरासतमै गाडी चालकको रहस्यमयी मृत्यु

डोटी । मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा आज अपराह्न जोरायल गाउँपालिका १ गैरास्थित प्रहरीचौकी गैरा डोटीले पक्राउ गरेका एक चालकको रहस्यमयी मृत्यु भएको छ।

मृत्यु हुनेमा गैरा बस्ने २१ वर्षीय गणेश पाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीपसिंह देउवाले जनाएका छन । पालीले मापसे गरी गैराबाट डडेल्धुराको गाङ्खेत जाने कच्ची सडकमा अन्य जीपलाई जान नदिई आफूले चलाउँदै आएको से १ ज २९२ नम्बरको महेन्द्रा जीप लगी बाटो छेकेको जानकारी पाएलगत्तै निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अभियुक्त पालीले पिसाब लागेको भन्दै शौचालय गई नाम नखुलेको दुई क्याप्सुल औषधि खाएको र शौचालय बाहिर निस्किँदा आगनमा ढलेपछि उपचारका लागि उपक्षेत्रीय अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतकको मृत्यु रहस्यमयी भएको भन्दै आफन्तहरु नाराबाजी लगाएका छन । पालीको शवलाई पोस्टमार्टमका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ।