कोरोना नलाग्ने अन्धविश्वासका कारण विषाक्त रक्सी खाँदा ७ सयको मृत्यु

तेहरान– विषाक्त मादक पदार्थ सेवन गर्दा इरानमा मृत्यु हुनेको सङ्ख्या सात सयभन्दा बढी पुगेको छ ।

रक्सी सेवन गर्दा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासमा परेर अत्यधिक रक्सी सेवन गरेकाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

सरकारी अधिकारीले दिएको जानकारीअनुसार विषाक्त रक्सी सेवनका कारण कुल ७२८ जनाको मृत्यु भएको हो ।

गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरुले अत्यधिक रक्सी सेवन गरेका थिए । इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो ।

अल्जरीले संप्रेषण गरेको समाचारअनुसार देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि उनीहरुले अत्यधिक मात्रामा रक्सी सेवा गरेका थिए ।

इरान कोरोना भाइरसको सङ्क्रमण फैलिएको हिसावले मध्यपूर्व कै सवैभन्दा बढी प्रभावित देशमा पर्दछ ।

इरानका स्वास्थ्य मन्त्रायका प्रवक्ता किनौश जाहनपौरले शुरुमा पाँच हजार ११ जनाको विषाक्त रक्सीका कारण आँखा खराब भएर मृत्यु भएको र पछि सोही कारणले ९० जनाको मृत्यु भएको बताए ।

इरानका अधिकांश भागमा रक्सी प्रतिबन्ध रहेको छ तर रक्सी सेवनका कारण कोरोनाबाट बच्न सकिन्छ भन्ने गलत हल्ला फैलिएपछि कैयौँ व्यक्तिले त्यही हल्लाका पछि लागेर कडा प्रकारका रक्सी सेवन गरेका थिए ।

विषाक्त रक्सीले सुरुमा मस्तिष्कलाई असर गरेर शरिरका अन्य अङ्गलाई पनि काम गर्न नसक्ने बनाउने गरेको अधिकारीले जनाएका छन् । उनीहरुलाई छाती दुख्ने, वान्ता हुने, आँखामा समस्या हुनेलगायतका लक्षण देखिने गरेको थियो ।

इरानमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच हजार ८०६ पुगेको छ भने, ९१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । यो सङ्ख्या मध्यपूर्व कै सवैभन्दा धेरै भएको जनाइएको छ । एजेन्सी