हत्या आरोपमा तीन जना पक्राउ

जनकपुरधाम । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर २ मैनाकडेरीमा गत असोज १० गते भएको महिलाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

मैनाकडेरी बस्ने शिक्षक शिवनारायण यादवकी श्रीमती ५० वर्षीया दाइमन देवी यादवको हत्या भएको थियो ।

पक्राउ पर्नेमा तिरहुत गाउँपालिका २ बस्ने २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलिया बस्ने ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।

यी तीन जनामध्ये साहले दाइमन देवीलाई भुइँमा लडाएर डोरीले घाँटीमा कसी हत्या गरेको खुल्न आएको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले बताए ।

‘अन्य दुइ जना ओमप्रकाश र अजयले बाहिर कोही आउँदैछ कि भनेर पहरा दिएको देखिएको छ,’ सिंहले भने, ‘उनीहरुले गरेको अपराध स्वीकार गरेका छन् । कानुन अनुसारको थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार मृतक महिला दाइमन देवी यादवकी देउरानीसँग प्रतिवादी ओमप्रकाश यादवको अनैतिक सम्बन्ध रहेको र सो कुरा दाइमन देवीले थाहा पाउँदा ओमप्रकशले रिसइबी साँधेर उनको हत्याको योजना बनाएको खुल्न आएको छ ।