लघुकथाः कफी पाहुना 

पशुपतिनाथ दर्शन गरेर नजिकैको चिया पसलमा कालो चिया माग्दै मात्र के थिए, एक जना वृद्ध नजिकै आएर भन्नुभयो

‘बाबुलाई देख्दा मेरो छोराको याद आयो । बाबुको घर कता नि?’

मः मेरो घर इलाम ।

(उनी केही भावुक भएको महसुल गरे र चिया पिउने प्रस्ताव राखे )

वृद्धः चिया होइन बाबू कफी नपिएको धेरै भयो । कफी किनिदिने हो ?

मः साहुनी एक कप कफी पनि बनाउनुस् है ।

कफी पिउन थालेसँगै उनी त आफ्नो बिगत पो ओकल्न थाले । ‘जेठो छोरा बचेरा लिएर अमेरिका उडेको २० बर्ष भयो बाबु हालसम्म आफू हुर्केको गुंडमा फर्कने संकेत देखाएको छैन । मेरी श्रीमतीले बिदा लिएसँगै मेरो यो अन्कुसे लौरो साथी बनेको छ बाबु ।’

मः अनि अरु आफन्त कोहि छैन तपाईंको ?

वृद्धः छन् कान्छा छोरा बुहारी दुबै डाक्टर छन् , तर …

मः तर के नि बुवा ?

वृद्धः इभिनिङ डिउटि सकेर लिन आउछु है बुवा भनेर यहि नजिकैको वृद्ध आश्रममा छोडेर गएको पनि बर्षाैैं भयो । छोरा जस्तै देखेर तपाईंलाई बोलाएको ।

मः कसैको साहारा लिएर घर जानू भएन ?

वृद्धः मेरो मनले मानेन, मेरो इमान ले मानेन ।

मः अनि छोरा बुहारी आएनन् ?

वृद्धः आएनन् । छोराको इभिनिङ डिउटि कहिले सकिन्छ भनेर सयौंलाई सोधेको बर्षाैं भयो बाबू ।

(उहाँको कुरा सुन्दा पक्कै पनि कुनै साहित्यकार हुनुपर्छ भन्ने अनुभुति भयो तर सोध्न सकिन ।

रित्तो कपमा खसेको उनको आँशु महसुस गर्दा मलाई उकुस मुकुस भयो ।)

मः बुवा कफी थप्ने ?

(खुशी भएर कफि थपे )

वृद्धः सयौँ कविता लेखिसके आज मेरो कविता कस्ले लेखिदेला बाबू । उभिदा उभिदै देउताको आँशुले कटौरो भरिएला भन्ने पिर लाग्न थाल्यो ।

(कफि सुरुप्प पार्दै आफू साहित्यकार भएको जानकारी गराए)

कथा जस्तो उनको ब्यथा । कविता जस्तो उनको कथा ब्यथा सुनेर । बेदनाका भार मेरो काँधले थेग्न सकेन । कुनामा गएर पैसा तिर्ने निहुँमा आँशु पुछे ।

उनी त हिडिसकेछन्

मलाई पत्तै नदिइकन …

लेखकः सबिन भट्टराई