लघुकथाः अघोरी संगको भेट

पुर्णिमाको रात थियो माइलादार्इ मेरोमा आए

माइलादार्इः जाँउ अघोरिलाइ भेट्न मैले रक्सीको बन्दो बस्तो गरिसके ।

मः रक्सी ? किन नि ?

माइलादार्इः आज अघोरीलाइ मज्जाले रक्सि खुवाउने हो ।

मः ठिकै छ जाँउ ।

रातको सन्नाटा, झ्याउकिरिको आवाज संगै पालैपालो रक्सीको ग्यालेन बोक्दै जङ्गलको सानो गोरेटो हुदै उकालो लागियो । मनमा धेरै खुल्दुली भए पनि एक कुनामा डर बाँकीनै थियो ।

अघोरीले केही नराम्रो त गर्ने होइन ?

करिव एक घन्टाको उकालो बाटो हिडे पछि जङ्गलको बीचमा एउटा टिनको छाना भएको कटेरो आइपुग्यो ।

छेउमा बाँँसको धाराबाट कलकल पानी बगिरहेको थियो । हामी जुटको बोराको ढोका हटाएर भित्र पस्यौ ।

माइलादार्इः जय शम्भो बाबा ।

अघोरीः जय शम्भो बालक ।

छेउमा आगो बालेर बसिरहेका अघोरी बाबा संग मेरो आँखा जुध्यो ।

अघोरीः यो बालक को हो ?

माइलादार्इः शंखे हो । घाटमा शंख फुक्ने केटो ।

मः जय शम्भो बाबा ।

अघोरीः जय शम्भो । बस् बस् ।

बाँसको दुईवटा साना साना खाटमा परालको गुन्द्री ओछ्याइएको थियो, एउटामा हामी बस्यौ ।

माइलादाइले रक्सिको ग्यालेन कुनामा बिसाए , आगो ताप्दै चिलिम तान्दै थिए बाबा ।

माइलादार्इः सुरु गरौ है बाबा ?

अघोरीः अवस्य, एउटा थोत्रो झोलाबाट सेतो खप्पर निकाले ।

मः माइलादाइ यो मान्छेको खप्पर किन निकाले बाबाले ?

माइलादार्इः यो बाबाको प्याला हो ।

म छक्क परे मान्छे को खप्पर बाबाको प्याला ?

अघोरीले प्याला थापे, माइलादाइले २०लिटरको जर्किनबाट रक्सी खन्याउनथाले । खप्परको हाडमा अटे जति एकै सासमा सके बाबाले ।

अचम्मको शृङ्खला बढ्दै गयो, हामीले सुघ्न नसक्ने रक्सी बाबाले स्वाटका स्वाट कसरी पार्न सकेका होलान् । छेउको माटोको भाडाबाट मासु निकालेर खान थाले ।

अघोरीः बालक खाए हुन्छ , गाइको बाहेक सबैको मासु खाए हुन्छ । गाइको मासु बिषालु हुन्छ अरु सबै खाए हुन्छ । अघोरिले ग्यालेन रित्याउदै गए ।

माइलादार्इः यो कुटिमा सर्नुभएको कति भयो बाबा ?

अघोरीः भयो दुइबर्ष जति , च्यान खोज्नै धेरै समय लाग्यो ।

माइलादार्इः भुतले दुःख दिदैन ?

अघोरीः कुनै कुनै बेला राती थिच्न आउँछ । मन्त्र जप्न थाल्छु अनि यो बजायो पछि भाग्छ । नलि खुट्टाको हाड देखाउदै भन्छन् ।

गाँजाको गन्धले मेरो टाउको दुख्न थाल्यो , कुटी धुवाँले भरियो, म एकछिन बाहिर निस्किए ।

रुखको पातबाट तप् तप् शीत चुहिदै थियो ।लाटोकोसेरोको आवाज आइरहेको थियो , धाराको छेउमा बसेर पानीको आवाजलाई ब्रह्मनादमा कैद गरे । एकछिन पछि भित्र पसे अघोरी बाबा साधनामा लिन थिए ।

मः माइलादाइ यो कस्तो साधना हो ? ‘सानो स्वरमा सोधे’

माइलादार्इः यो श्मशान साधना हो । मासु रक्सी खाएको बेलामा यो साधना गर्छन् रे, यो एक कठिन र रहस्यमय साधनाको रुप हो । जे पनि पचाउन सक्ने भन्ने अर्थ राख्छ यसले । यिनिहरुले शिव साघना , शव साधना पनि गर्छन् । एकोहोरो हेरि रह्यै साधनामा रहेको बाबालाई ।

माइलादार्इः अघोरीको अर्थ मनमा भेदभाव नहुने हो , कुनै एक बिषयलाई गम्भीर रुपले लिएर हठ कस्ने स्वभाव हुन्छ यिनिहरुको, जस्तो कठिन समयमा पनि आफुलाइ सरल बनाउने क्षमता हुन्छ । सडेको चामल पनि मज्जा लिएर खान सक्छन् ।

यतिकैमा अघोरीले आँखा खोले, रातो आगोको डल्लो जस्तो धुवाँनै उड्ला उड्ला जस्तो । एक मुट्ठी तातो खरानी निधारमा दलेर केहि मन्त्र जप्न थाले ।

मः माइलादाइ यो कुन मन्त्र हो ?

माइलादार्इः आत्मालाइ वसमा लिने मन्त्र होला सायद उनी पनि पक्का भएनन् ।

अघोरीहरु सरल भन्छन् तर हामिले हेर्दा कठिन लाग्छ । ‘उल्टो खपटे उल्टो ज्ञान , महा बादर बच्चा कच्चा ज्ञान, खोपडी चेतन खोपडी ज्ञान , आ–आफ्नो स्वाभिमान । अघोरीको मन्त्र यति मात्र बुझे , फरक फरक मन्त्र जपिरहेका थिए बाबा ।

झोलाबाट दुर्गा र चामुण्डाको सा सानो मुर्ति निकालेर स्थापना गरे र छेउमा हाडखोर पनि राखेर मन्त्र जप्न थाले ।

पलेटी कसेको बाबा एकै छिनमा उड्न पो थाले , माइलादाइले हात तल छिराएर मलाई देखाए , यो भ्रम होइन भनेर प्रमाणित गर्न । बसेको ठाँउबाट करिव एक फुट माथी उडे अघोरी बाबा , गुरुत्व आकर्षकलाई चुनौती दिए बाबले त । यो कसरी सम्भव भयो म छक्क परे ।

माइलादार्इः बार्ह बर्षको कडा तपस्या पछि मात्र एउटा अघोरीले हठ पूरा गर्छन् रे । यो त्यसैको एउटा परिणाम हो । यिनिहरु बिना खाना मसानमा धेरै दिन बस्न सक्छन् तर खाएको बेलामा एकै पटक कति हो कति खान सक्ने क्षमता हुन्छ ।

मसानमा तन्त्र योग गर्ने यिनिहरुको दैनिकी हो ।

यी अदभूत शक्ति देखेर म अर्कै लोकमा छु भन्ने भान भइरहेको थियो ।

माइलादार्इः मुद्रा योग , कुण्डलिनि योग , मैथुन योग आदि आदि गर्छन् अघोरीहरु ।

माइलादाइको कुरा नबुझे पनि टाउको हल्लाइरहे ।

अधोरी बाबाले आँखा खोले , शान्त भइ मुस्कुराए ।

हामी जय शम्भो भन्दै त्यहाँबाट बिदा भइ ओरालो लाग्यौं ।

लेखकः सविन भट्टराई